Search
Close this search box.
Search
Close this search box.

News \

काठमाडौंको सोरुममा भारतीय ब्रान्ड प्युअर ईभीका इलेक्ट्रिक स्कुटर उपलब्ध

काठमाडौं – नेपाली बजारमा बिक्रीका लागि भारतीय इलेक्ट्रिक स्कुटर निर्माता कम्पनी प्युअर ईभीका दुई मोडल आइपुगेका छन् । प्युअर ईभीका ई–प्लुटो ७जी र ई–ट्रान्स प्लस गरी दुई मोडलका इलेक्ट्रिक स्कुटर नेपाली बजारमा उपलब्ध भएका हुन् ।

काठमाडौंको नक्सालमा अवस्थित सोरुममा यी स्कुटर उपलब्ध छन् । नेपाली बजारका लागि आधिकारिक वितरकको रुपमा ह्वाइट लोटस मोटर्स प्रालिले यी स्कुटर उपलब्ध गराएको हो । करिव एक साता भित्र यी स्कुटरको औपचारिक बिक्री शुभारम्भ गरिने छ ।

अलि बढी स्पिड र प्रिमियम मोडल चाहनेका लागि ई–प्लुटो ७जी र थोरै मात्र प्रयोग गर्ने र कम स्पिड चाहनेका लागि ई–ट्रान्स प्लस उपलब्ध गराएको ह्वाइट लोटस मोटर्सका म्यानेजिङ डाइरेक्टर अशोक खड्गीले बताए । यी स्कुटरको मूल्य क्रमशः २ लाख ४९ हजार र १ लाख ९९ हजार रुपैयाँ छ ।

बिक्री शुभारम्भको अवसरमा ई–प्लुटो ७जीमा १५ हजार र ई–ट्रान्स प्लसमा १० हजार रुपैयाँ छुट उपलब्ध हुनेछ ।

ई–प्लुटो ७जी स्कुटरमा २.५ किलोवाटको ब्याट्री र १.५ किलोवाटको मोटर छ भने यसलाई एक पटक चार्ज गर्दा ११६ किलोमिटर गुडाउन सकिन्छ ।

ई–ट्रान्स प्लस स्कुटरमा १.२५ किलोवाटको ब्याट्री र २५० वाटको मोटर छ । यसलाई एक पटक चार्ज गर्दा ६२ किलोमिटर चलाउन सकिन्छ ।

स्कुटरमा ३ वर्षको वारेन्टी र २ वर्ष सम्म फ्रि सर्भिसिङ कम्पनीको तर्फबाट उपलब्ध गराइने छ । यद्यपि इलेक्ट्रिक स्कुटरलाई सर्भिसिङको धेरै आवश्यकता नपर्ने र भारतीय बजारको अनुभव अनुसार ५ वर्ष सम्म स्कुटरको ब्याट्री र मोटरमा कुनै समस्या नदेखिएको खड्गीले बताए ।

यसको ब्याट्रीलाई स्कुटरबाट निकालेर समेत चार्ज गर्न सकिन्छ । विद्युतीय सवारी साधनका लागि ८० प्रतिशत सम्म बैंकहरुले ऋण उपलब्ध गराउने सक्ने भएकाले फाइनान्स सुविधामा समेत स्कुटर उपलब्ध गराइने छ । यसका लागि विभिन्न बैंकहरुसँग सम्झौता समेत भइसकेको खड्गीले बताए ।

काठमाडौं उपत्यका वाहेक बुटवल, चितवन, पोखरा लगायतका विभिन्न सहरमा समेत यी स्कुटर उपलब्ध हुने बताइएको छ ।

आईआईटी हैदरावादमा स्थापना भएर विकास भएको कम्पनी भएको र स्कुटर तथा ब्याट्री समेत आफै उत्पादन गर्ने कम्पनी भएकाले प्युअर ईभी धेरै विश्वसनिय भएको बताइएको छ ।

यी स्कुटर भारतको एआरएआईले समेत प्रमाणिकरण गरेको हुनाले भरपर्दो र विश्वसनिय भएको बताइएको छ ।

Recent News